काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की वरिष्ठ नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दर्जनौँ नेता–कार्यकर्ता नेकपा (एमाले)मा फर्किएका छन् । काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा एमालेले औपचारिक रूपमा ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा गरेको छ ।
एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आजको कार्यक्रम अभियानको औपचारिक घोषणा मात्र हो । उनले भने, “यो अभियानको घोषणा मात्रै हो, अब विभिन्न जिल्लामा जिल्ला स्तरका ‘घर फर्क कार्यक्रमहरू’ निरन्तर सञ्चालन गरिनेछ।” अध्यक्ष ओलीले केही दिनअघि नै एमाले छाडेर गएका नेताहरूलाई “मूलघर फर्कन” आग्रह गरेका थिए । त्यसैको निरन्तरता स्वरूप नेकपा (एस) का नेताहरू पुनः एमालेमा फर्किन थालेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरूले असहमति जनाउँदै एमालेमा पुनः फर्कने निर्णय लिएका हुन् । स्मरणीय छ, २०७८ साल भदौमा माधव नेपालले एमालेबाट विभाजन गर्दै नेकपा (एस) दर्ता गराएका थिए । अहिले माओवादीसँगको एकता घोषणापछि पार्टीभित्र असन्तुष्ट एक तप्को मूलघर फर्किने लहर सुरू भएको देखिएको छ ।






