काठमाडौं – नेपाल टेलिकमले विद्यार्थीवर्गलाई लक्षित गर्दै किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले वि.सं. २०५४ साल वा सोपछि जन्म भएका विद्यार्थीका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको हो । आइतबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री खरेलले आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच सुनिश्चित गर्न टेलिकमले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । उहाँले जनतालाई सुसूचित राख्ने र सम्पर्कमा जोडिने माध्यमका रूपमा टेलिकमको योगदान उल्लेखनीय रहेको बताउँदै सुशासनको अनुभूति हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
त्यसैगरी, कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चार मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै नाफा भन्दा पनि सेवा प्रमुख उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आम्दानीका सम्भावित क्षेत्र पहिचान गरी सेवा विस्तार र राजस्व वृद्धि दुवैमा ध्यान दिनुपर्ने बताउनुभयो । अफर अनुसार विद्यार्थीहरूले करसहित ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्नेछन् । साथै, जडान शुल्कका रूपमा ५०० रुपैयाँ थप लाग्नेछ । यस योजनामा विद्यार्थीहरूलाई ड्युल ब्याण्ड सीपीई (Dual Band CPE) र १०० मिटर ड्रप फाइबर नि:शुल्क उपलब्ध हुनेछ ।
यो अफर आजदेखि २०८२ माघ २२ गतेसम्म मात्र लागू रहनेछ । विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी वा नजिकको नेपाल टेलिकम कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् । कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार आवेदन फारमका साथ विद्यार्थी परिचयपत्र, स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र (जस्तै जन्मदर्ता, नागरिकता आदि) र नाबालिगको हकमा अभिभावकको परिचयपत्र (Citizenship/License/Passport) अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
एफटीटीएच प्याकेजको भ्यालिडिटी समाप्त भएपछि पुनः त्यही अफरमा नवीकरण गर्न नसकिने भएकाले विद्यार्थीले निरन्तर सेवा प्रयोग गर्नका लागि साविकका अन्य प्याकेजहरू मध्येबाट उपयुक्त योजना छनोट गर्न सक्नेछन् । यदि विद्यार्थीले सेवा नवीकरण नगर्ने निर्णय गरे भने सुरुमा प्राप्त गरिएको सीपीई फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले यो विशेष अफरमार्फत देशभरका विद्यार्थीलाई डिजिटल पहुँच सुलभ गराउँदै ‘स्मार्ट विद्यार्थी, कनेक्टेड नेपाल’ अभियानलाई सघाउने अपेक्षा लिएको छ ।






