काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न अब एक साताभन्दा कम समय बाँकी रहँदा १९ नयाँ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ दल दर्ता गर्न खोज्नेहरूमा राजनीतिक पृष्ठभूमिका मात्र होइन, जेन–जी समूह, व्यापारी, पूर्वसांसद, पूर्वराजदूत र नागरिक अभियन्ता समेत सक्रिय देखिएका छन्।
व्यापारी पृष्ठभूमिका बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले प्राध्यापक दिनेश प्रसाईँको अध्यक्षतामा गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन दिएका छन्। त्यस्तै, पूर्वराजदूत नवराज सुवेदीले जनयुग पार्टी दर्ताको प्रयास गरेका छन्। सुवेदी विगतमा जनमोर्चा हुँदै माओवादी र नयाँ शक्ति पार गर्दै जसपा सम्म पुगेका थिए। निवर्तमान सांसद योगेन्द्र मण्डलले पनि राष्ट्रिय उर्जाशील पार्टी दर्ताका लागि निवेदन दिएका छन्। २०७९ सालको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा मोरङ–५ बाट विजयी भएका उनी अहिले नयाँ दलका नेतृत्वमा उत्रिएका हुन्।
त्यस्तै, जेन–जी पुस्ताका प्रतिनिधिहरू पनि दल दर्तामा अग्रसर छन्। अजयकुमार राईको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टीको नाममा निवेदन परेको छ, जसमा केही आन्दोलनका घाइते परिवारका सदस्य र जेन–जी उमेर समूहका युवाहरू छन्। साथै हिराप्रसाद सेतीको नेतृत्वमा राष्ट्रिय जेन–जी पार्टीको नाममा पनि निवेदन परेको छ। विगतमा निर्वाचन बहिष्कार गर्दै आएका **नेत्रविक्रम चन्द ‘विप्लव’**ले यसपटक कम्युनिष्ट पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका छन्। त्यस्तै, माओवादी निकट ज्ञानेन्द्रबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ता गरेका छन् — तामाङ अवकाशपछि सामाजिक क्षेत्रमा सक्रिय थिए।
त्यसैगरी, मन्त्रीका लागि सिफारिस भएर अन्तिम समयमा नाम फिर्ता लिएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल, अभियन्ता चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, हिमालबहादुर चन्दले राष्ट्रिय युवा पार्टी नेपाल, सविन सिग्देलले राष्ट्रनिर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि निवेदन दिएका छन्। आइतबारमात्रै डा. सुन्दरराम बोहराले नागरिक आवाज पार्टी, गणेशकुमार मण्डलले सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाले नागरिक बचाउ दल र राजकुमार कक्षपतिले नेपाल कम्युनिष्ट पार्टी (बामपन्थी केन्द्र) नाममा निवेदन दिएका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म १ सय २५ दल दर्ता भइसकेका छन्। गत भदौमा सुरु भएको जेन–जी आन्दोलनपछि मात्र १५ नयाँ दलले आयोगमा निवेदन दिएका थिए। तीमध्ये धरान उपमहानगरका मेयर हर्कराज राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले पहिले नै दर्ता प्रमाणपत्र पाइसकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलले १० मंसिरभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने छ, जसका लागि ३० कात्तिकभित्रै दल दर्ता प्रमाणपत्र लिनुपर्ने कार्यतालिका आयोगले जारी गरिसकेको छ।






