काठमाडौँ – ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल’ नाममा दर्ता गर्ने सहमति भएको छ। आइतबार राति बसेको बैठकले यसअघि प्रस्तावित नेपाल जनसेवा पार्टी नामलाई फेरेर अन्ततः ‘उज्यालो नेपाल’ नाममै निर्वाचन आयोगमा जाने निर्णय गरेको हो। दल दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा प्रारम्भिक समिति गठन गरिएको छ। उक्त समितिमा अरू सबै सदस्य रहनेछन् भने तत्कालका लागि कुनै पदाधिकारी तोकिएको छैन।
घिसिङ निकट स्रोतका अनुसार, “हाल ५१ सदस्यीय केन्द्रीय समिति बन्नेछ, जसको संयोजक उपाध्याय रहनुहुन्छ। अन्य पदाधिकारीहरू दोस्रो चरणमा थपिनेछन्,” स्रोतले भन्यो। पार्टीको चुनाव चिह्न भने ‘बिजुलीको चिम’ नै रहने भएको छ। बैठकले सो चिह्नलाई दलको ऊर्जा, पारदर्शिता र प्रकाशको प्रतीकका रूपमा निरन्तरता दिने निर्णय गरेको हो।
हाल समितिले माइन्यूट र हस्ताक्षरको काम तीव्र रूपमा गरिरहेको बताइएको छ। स्रोतका अनुसार, “आजै दिउँसो ४ बजेसम्म सबै प्रक्रिया टुंग्याएर आयोगमा दर्ता प्रयास भइरहेको छ, नभए भोलि बिहान दर्ता हुनेछ।” यसबीच, केन्द्रीय समितिमा रहने सदस्यहरूको अन्तिम नामावली टुंग्याउन छलफल जारी छ।






