काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी थालेको छ भने, कांग्रेसका तत्कालीन सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु गरेका छन्। संवैधानिक इजलासमा रिटमाथि प्रारम्भिक बहस भइरहेका बेला प्रत्यक्ष सरोकारवालाको रिट नपरेको विषय उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी गरिएको हो।
त्यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन सुरु गरेका छन्। आइतबारसम्म ३५ जना सांसदले हस्ताक्षर गरिसकेका छन्। पार्टीका नेता दीपक गिरीका अनुसार “असंवैधानिक कदम सच्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस संसद् पुनःस्थापनाको पक्षमा लाग्नुपर्छ।”
यता, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने निर्वाचनमै राजनीतिक निकास हुने बताउँदै पुनःस्थापनाको अभियानसँग असहमति जनाएका छन्। उता एमालेले पनि संयुक्त रिट वा अलग-अलग रूपमा अदालत जाने तयारी गरेको छ। प्रमुख सचेतक महेश बर्तौलाले विघटित सांसदहरूबाट हस्ताक्षर संकलन भइरहेको बताए। ओलीले पुनःस्थापनापछि संविधान संशोधन, सर्वपक्षीय सरकार गठन र निश्चित अवधिभित्र निर्वाचनमा जाने ६ बुँदे मार्गचित्र अघि सारेका छन्। उनले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विकल्पसमेत सुझाएका छन्।
एमालेले पुनःस्थापनालाई पहिलो प्राथमिकता दिए पनि चुनावी तयारी पनि सँगसँगै अघि बढाएको छ। पार्टीले देशभर ‘डिजिटल जेनेरेसन (DG) फोर्स’ गठन गर्दै संगठन सुदृढीकरण र जनजागरण अभियान चलाइरहेको छ।






