काठमाडौं – मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि “प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको” आरोप लगाएका छन्। स्वास्थ्य उपचारका लागि काठमाडौं हिँडेकी भण्डारीले बाटोमै एक होटलमा पुगेर एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सोनलले सामाजिक सञ्जालमा लेख्दै भने, “स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सिन्धुली–महोत्तरी सिमानाको होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन्।”
सोनलले भण्डारीलाई सोमबार बिहान नै स्वास्थ्य उपचारको शुभकामनासहित बिदाइ गरेका थिए। तर केही घण्टामै भण्डारीले संविधानको धारा १६८(३) अनुसार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गत शनिबार राति विश्वासको मत नपाउने निश्चित भएपछि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।






