काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले शुक्रबार साँझ प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष राजीनामा बुझाएका थिए । प्रदेशप्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ उपधारा (१) खण्ड (क) अनुसार मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत गरिएको उल्लेख छ ।
प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यवाहकका रूपमा सरकार सञ्चालन गर्ने व्यवस्था गरिएको जनाइएको छ । मुख्यमन्त्री सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको हो । उनले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका थिए । तर, उनलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने केही सांसदहरू विपक्षमा उभिने तयारी देखिएपछि विश्वासको मत नपाउने निश्चित भएपछि सोनलले मतदान प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिएका हुन् ।
यससँगै मधेश प्रदेश पुनः राजनीतिक अनिश्चिततामा फसेको छ । अब संविधानअनुसार प्रदेशसभामा बहुमतको आधारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।







