जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा घोषणा गर्नुभएको छ। उहाँले आइतबार प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गर्नुभएको हो। मुख्यमन्त्री सोनारले विश्वासको मत लिने तयारी गर्नुभएको थियो, तर आवश्यक समर्थन नपाएपछि उहाँले बैठकमै राजीनामा घोषणा गर्नुभएको हो। उहाँले आजै आफ्नो पदबाट राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गर्ने जानकारी दिनुभयो।
सोनारले राजीनामाको घोषणा गर्दा प्रदेशसभामा उपस्थित सांसदहरूले मिश्र प्रतिक्रिया दिएका थिए। केही सांसदहरूले उहाँको नेतृत्वमा प्रदेशमा विकास र सुशासनका प्रयासहरू भएको भन्दै धन्यवाद व्यक्त गरे भने केहीले सरकारको विफलता औंल्याएका थिए। राजीनामापछि अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले सरकार गठनका लागि नयाँ राजनीतिक समीकरण बनाउन सक्रियता बढाएका छन्।






