संसद्का पदाधिकारीहरूको राष्ट्रपति पौडेलसँग भेट, सरकारको निर्णयप्रति असन्तुष्टि

काठमाडौँ – संघीय र प्रदेश संसद्का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारको ताजा निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले संघीय संसद् र प्रदेश संसद्का सदस्य तथा पदाधिकारीहरूको सचिवालय सदस्य संख्या कटौती र स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णयले संसद्को मर्यादा र स्वतन्त्रतामाथि आघात पुर्‍याएको गुनासो राखेका छन्।

राष्ट्रपतिलाई भेट्ने मध्ये प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, र उपाध्यक्ष विमला घिमिरे रहेका छन्। त्यसैगरी, कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, र लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पनि भेटमा सहभागी भएका थिए।

राष्ट्रपतिलाई भेट्नुअघि पदाधिकारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा सामूहिक छलफल गरेका थिए। मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको छलफलमा सरकारको निर्णयले संसद्को अपहेलना भएको निष्कर्ष निकालिएको सहभागीहरूले जनाएका छन्। स्रोतका अनुसार, पदाधिकारीहरूले उक्त निर्णय फिर्ता गर्न सरकारलाई औपचारिक सिफारिस गर्ने तयारी पनि गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्