काठमाडौँ – देशभर बढ्दो राजनीतिक सक्रियतासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ताका निवेदन दिनेको संख्या तीव्र रूपमा बढेको छ। हालसम्म आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार शुक्रबार मात्रै चार वटा नयाँ दलले दर्ताको निवेदन दिएका छन्। तीमध्ये योगेन्द्र मण्डलको नेतृत्वमा ऊर्जाशील पार्टी, चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी, र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपालले आयोगमा औपचारिक रूपमा निवेदन दिएका हुन्।
त्यस्तै, खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपालले पनि दर्ताका लागि आवश्यक कागजात आयोगमा बुझाएको छ। यस पार्टीले आफ्नो चुनाव चिन्हका रूपमा “गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न” प्रस्ताव गरेको छ। यसअघि नवराज सुवेदीको नेतृत्वमा जनयुग पार्टीले पनि दर्ता निवेदन दिएको थियो। जनयुग पार्टीले आफ्नो विधान, नियमावली, घोषणापत्र, केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, र समर्थकहरूको विवरणसहित आयोगमा सम्पूर्ण कागजात पेश गरेको बताइएको छ।
निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनअघि ९ वटा दलले मात्र दर्ताका लागि निवेदन दिएका थिए, तर आन्दोलनपछि थप १५ दलले नयाँ रूपमा दल दर्ता गराउने प्रक्रिया अघि बढाएका छन्। राजनीतिक रूपमा ‘नयाँ सुरुवात’को रुपमा हेरिएको यो दल दर्ता लहरले निकट भविष्यमा पार्टी दर्ता संख्या अझ बढ्ने अनुमान गरिएको छ।






