काठमाडौँ । गत भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। आयोगलाई आवश्यक विवरण नपठाएको भन्दै आयोगले खापुङसँग स्पष्टीकरण मागेको हो।
आयोगका प्रवक्ता एवम् सदस्य विज्ञानराज शर्माका अनुसार आयोग गठन भएपछि प्रहरीसँग सो घटनामा खटिएका सुरक्षा अधिकृत र जवानहरूको विवरण मागिएको थियो। तर पत्र पठाएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले विवरण उपलब्ध गराएको थिएन।
आयोगले पुनः पत्राचार गर्दा प्रहरी प्रधान कार्यालयले “आईजीपीदेखि जवानसम्म सबै खटिएका थिए” भन्ने सामान्य जानकारी मात्र दिएको थियो। विस्तृत विवरण नपठाएपछि आयोगले आइतवार आईजीपी खापुङकै नाममा २४ घण्टाभित्र जबाफ पठाउन निर्देशन दिएको हो।
तर, प्रहरी प्रधान कार्यालयले जबाफमा सो विवरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट जानकारी लिन समय लाग्ने बताएको छ। आयोगले भने आवश्यक विवरण प्रधान कार्यालयकै जिम्मेवारीमा पर्न आउने भन्दै प्रहरी महानिरीक्षकलाई प्रत्यक्ष स्पष्टीकरण माग्ने निर्णय गरेको हो।






