काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित दर्ता गर्दै श्रृङ्खलामा नेपालको जितको खोज अन्त्य गरिदिएको हो।
यससँगै नेपालले सिरिजमा युएई र अमेरिका दुवैसँगका दुई–दुई खेल गुमाउँदै लगातार चार खेलमा पराजय व्यहोरेको छ।
बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ६ विकेटको क्षतिमा ४९.१ ओभरमा पूरा गर्यो। घरेलु टोलीका लागि मुहमद शाहदाद र मुहमद वासिमले उत्कृष्ट प्रदर्शन गरे। चौथो विकेटका लागि दुवैले १४७ रनको महत्त्वपूर्ण साझेदारी गरे।
वासिमले ७३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाए भने शाहदाद ९६ रनमा आउट भए। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए।
यसअघि टस जितेर फिल्डिङ रोजेको युएईविरुद्ध नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो।
नेपालको सुरुवात खराब रह्यो। ओपनर प्रारम्भमै २ रनमै आउट भएपछि दबाबमा परेको नेपाललाई आसिफ शेख र भीम सार्कीले उकास्ने प्रयास गरे। दोस्रो विकेटका लागि दुवैले ७४ रनको साझेदारी गरे। आसिफले ४८ बलमा ३४ रन (४ चौका) बनाए भने भीमले ६८ बलमा ४८ रन (७ चौका) जोडे।
कप्तान रोहित पौडेल २ रनमै आउट भए। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बनाए। कुशल मल्लले अन्त्यतिर ५१ बलमा ४५ रन (१ चौका, ३ छक्का) जोडे भने सन्दीप लामिछानेले १० बलमा नटआउट १५ रन थपे।
बलिङतर्फ युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले दुई–दुई विकेट लिए।
यस जितसँगै युएईले २० खेलबाट १० अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा छ भने नेपाल १२ अंकका साथ सातौं स्थानमा रहेको छ। सिरिजका चारै खेल जितेको अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
लगातार चार खेलमा हारसँगै नेपालको प्रदर्शन पुनः आलोचनाको केन्द्र बनेको छ, विशेषगरी टप–अर्डरको कमजोरी र अस्थिर बलिङलाई सुधार्नु आगामी खेलहरूका लागि चुनौतीको विषय बनेको छ।






