दश वामपन्थी पार्टी एकीकृत, नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

काठमाडौं – नेपालका प्रमुख वामपन्थी शक्तिहरूबीच आज ऐतिहासिक एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहितका दश वामपन्थी दलबीच एकता घोषणा गरिएको हो ।

एकता कार्यक्रममा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी थिए ।

एकता घोषणापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने घोषणा गरिएको छ । नयाँ पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको छ ।

एकता संयोजन समिति सदस्य एवं एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यले विभिन्न वाम घटकबीच एकता गरिएको बताए । उनका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादको आधार निर्माण पार्टीको तत्कालीन कार्यनीति हुनेछ ।

एकता समझदारी अनुसार आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ । सहभागी दलका साविक केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा नयाँ केन्द्रीय समिति गठन गरिनेछ, जसमा संयोजक र सहसंयोजक दुवै पद रहनेछन् ।

त्यसैगरी, प्रदेशदेखि वडा तहसम्मका सबै संगठनमा पनि सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्त लागू हुने जनाइएको छ । एकता महाधिवेशनका लागि प्रतिनिधि चयन, संगठनात्मक संरचना र कार्यक्रम तय गर्न नौ दलबीच सहमति भएको छ ।

यससँगै लामो समयदेखि विभाजित वामपन्थी शक्तिहरूबीचको एकता प्रयासले ठोस रूप लिएको छ । नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीले देशमा वामपन्थी आन्दोलनलाई नयाँ दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।

तस्बिर: गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्