काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २७–२९ मा हुने ११औँ महाधिवेशनका प्रतिनिधि सात वटा आधारमा छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार, प्रतिनिधि छनोटका प्रक्रिया मातहतका कमिटीहरूले कार्यान्वयन गर्नेछन्।
एमाले केन्द्रीय सचिवालयले मंसिर १३ गते देशभर एकै पटक प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अपानिमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको पार्टी सदस्यता अनिवार्य रहेको र सदस्यता स्थानान्तरण गर्न चाहनेले कात्तिक मसान्तसम्म प्रक्रिया पुरा गर्नुपर्ने उल्लेख गरिएको छ।
पदेन प्रतिनिधि रहेका आयोजकहरूले प्रतिनिधि छनोटमा सहभागी हुन पाउने छैनन् । बाँकी सबै सदस्यहरू तोकिएको एकै क्लस्टरबाट मात्र प्रतिनिधि छनोट गर्न सक्नेछन् । दलित र श्रमिक क्लस्टरमा रहेका सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले महाधिवेशन अघि सार्वजनिक गर्ने व्यवस्था छ।
प्रतिनिधि छनोटमा विवाद वा अस्पष्टता भएमा केन्द्रीय सङ्गठन विभागमा सम्पर्क गर्न भनिएको छ, तर आवश्यक भन्दा बढी प्रतिनिधि पठाए मान्यता नदिने व्यवस्था अपानिमा उल्लेख छ।
महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टरका २,१२७ प्रतिनिधि सहभागी हुनेछन्। छनौट भएका प्रतिनिधिले फोटोसहित विवरण केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने अपानिमा निर्देश गरिएको छ।







