कम्युनिस्ट पार्टीहरूको ‘एकता घोषणा’ आज भृकुटीमण्डपमा

File Photo

काठमाडौँ — नेपालका कम्युनिस्ट पार्टीहरूमा पुनः ध्रुवीकरण र टुटफुटको श्रृङ्खला तीव्र बन्दै गएको छ। नेकपा (एमाले) बाहेक माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टीसहितका साना दलहरूमा पुनर्गठन र एकताको चहलपहल बढेको छ। जेन–जी आन्दोलनपछि पार्टीभित्रको असन्तोषले नयाँ एकता र अलग अभियान दुवैलाई गति दिएको छ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ साना दलले आज काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाली कम्युनिस्ट पार्टी’ नामबाट एकता घोषणा गर्न लागेका छन्। उक्त नयाँ पार्टीको चुनाव चिन्ह ‘तारा’ रहने र संयोजकमा पुष्पकमल दाहाल तथा सहसंयोजकमा माधवकुमार नेपाल रहने सहमति भएको छ। एकता घोषणा पछि उनीहरूले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्।

उता, माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले ‘पारदर्शी नेपाल’ नामक अभियान सुरु गरेको छ भने नेकपा (एकीकृत समाजवादी) का पूर्व महासचिव घनश्याम भुसालले आजै विराट वाम एकताको अभियान घोषणा गर्ने तयारी गरेका छन्।

त्यस्तै, नेकपा (एस) बाट अलग भएकी नेतृ रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा प्रवेश गर्ने जानकारी गराउने भएका छन्। भुसाल र झाँक्री पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ।

नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले पनि मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी सम्भावित पुनर्मिलनबारे छलफल गरेका छन्। छलफलमा ओलीले “एमालेमा फर्किन ढोका खुला छ, तर कुनै शर्त लागू हुने छैन” भनेका थिए। खनालले भने एमालेले बहुदलीय जनवादको सिद्धान्तमा पुनर्विचार गर्नुपर्ने शर्त अघि सारेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्