निकोलस भुसाल गोरखाबाट पक्राउ

 

काठमाडौँ — काठमाडौं प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई गोरखा नगरपालिका–८, रानीवन क्षेत्रबाट केही बेरअघि पक्राउ गरेको जनाएको छ।

भुसाल अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका छन्। प्रहरीका अनुसार उनी लामो समयदेखि खोजी सूचीमा थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत विकले बताएअनुसार, उनीसँग केही विषयमा बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको हो।

निकोलस भुसाल सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ नगरेको भन्दै निरन्तर विरोध जनाउँदै आएका थिए।

उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीका अनुसार, उनलाई काठमाडौं ल्याई अदालतमा पेश गरी थप अनुसन्धान अघि बढाइने छ।

यसअघि, भुसाललाई २३ असोजमा माइतीघर मण्डलाबाट अनुमति बिना प्रदर्शनमा उत्रिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनले गृहमन्त्री विरुद्ध तीव्र अभिव्यक्ति दिएका थिए। त्यतिबेला प्रहरीले उनको लागूऔषध सेवन परीक्षण समेत गरेको थियो, जसमा उनले गाँजा सेवन गरेको पाइएको थियो। त्यसपछि उनलाई सुधारगृह पठाइएको थियो।

निकोलस भुसाल यसअघि पनि चर्चामा आएका थिए। २९ मंसिर २०८१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहेका बेला सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। सो प्रकरणमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो र उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्