काठमाडौं- सर्वोच्च अदालतले राजदूतहरूलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरे पनि सरकारले उनीहरूलाई नेपाल बोलाएको छ। परराष्ट्र मन्त्रालयले ती राजदूतहरूलाई नेपाल फर्की मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवले पठाएको पत्रमा यही कात्तिक २० गते बिहीबारभित्र मन्त्रालयको सम्पर्कमा आइपुग्न भनिएको छ। पत्रमा अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर रहनु पर्ने उल्लेख गरिएको छ।
सर्वोच्च अदालतले आइतबार (कात्तिक १६) अन्तरिम आदेश जारी गर्दै राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। तर, आदेश जारी भएको दुई दिनमै सरकारले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयमार्फत उनीहरूलाई नेपाल फर्कन पत्र पठाएको हो। मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि रहेका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
सर्वोच्चको आदेश बेवास्ता गर्दै गरिएको यो कदमप्रति कानुनी तथा कूटनीतिक वृत्तमा चासो देखिएको छ।






