डिभिजन वन कार्यालय भोजपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, श्रेष्ठले आर्जन गरेको सम्पत्तिमध्ये रु १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँको स्रोत नखुलेको पाइएको छ। सो रकमलाई विगो मानी मुद्दा दायर गरिएको हो।

आयोगले विगोअनुसार जरिवाना, स्रोत नखुलेको सम्पत्ति तथा त्यसबाट बढेबढाइएको चल–अचल सम्पत्ति जफत गर्न मागदाबी गरेको जनाएको छ।

श्रेष्ठविरुद्धको उजुरी उनी डिभिजन वन कार्यालय इलाममा कार्यरत रहेका बेला परेको थियो।

छानबिनका क्रममा अख्तियारले श्रेष्ठको सरकारी सेवा प्रवेश मिति २०४८ साल असार २६ गतेदेखि २०८० सालसम्मको ३२ वर्षको सम्पत्ति अध्ययन गरेको जनाएको छ। अध्ययनअनुसार श्रेष्ठले सो अवधिमा रु २ करोड १६ लाख ८५ हजार आर्जन र रु ३ करोड ६० लाख ४ हजार खर्च गरेको पाइएको हो।

आयोगले उनले झुटो सम्पत्ति विवरण पेश गरी विवरण बुझाएको निष्कर्ष निकालेको छ र सोही आधारमा थप सजाय मागदाबी गरिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्