आठ कम्युनिष्ट दल एकतामा, प्रचण्ड संयोजक र माधव नेपाल सह-संयोजक

काठमाडौँ — नेपालका प्रमुख वाम राजनीतिक दलहरूमध्येका आठ कम्युनिष्ट पार्टीहरू एकतामा पुगेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत आठ वाम दलबीच आइतबार राति भएको छलफलपछि १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

सहमति अनुसार माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत पार्टीका संयोजक र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक हुनेछन् । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)’ रहने र निर्वाचन चिन्ह पाँचकुने तारा हुने सहमति भएको छ ।

नेकपा एसका वरिष्ठ नेता एवं वार्ता संयोजक बेदुराम भुसालका अनुसार, “कात्तिक १९ गते हुने एकता राष्ट्रिय सम्मेलनबाट औपचारिक रूपमा पार्टी एकता घोषणा गरिनेछ ।” पार्टी एकता घोषणापछि निर्वाचन आयोगमा दर्ता प्रक्रियासमेत सुरु गरिने उनले बताए ।

एकता पश्चात् बन्ने केन्द्रीय समिति करिब एक हजार सदस्यीय हुने बताइएको छ । सहभागी आठै दलका केन्द्रीय सदस्यहरूलाई समायोजन गरी नयाँ समिति गठन गरिनेछ । सम्मेलनमार्फत पार्टी घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन गरिने सहमतिपत्रमा उल्लेख छ ।

दलहरूले छ महिनाभित्र एकता महाधिवेशन गर्ने र त्यसअघि राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्तावेज तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सहमतिपत्र अनुसार, पार्टीको मार्गदर्शन सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ भने नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ रहनेछ ।

पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणलाई संरक्षण र प्रवर्द्धन गर्दै समाजवादको आधार निर्माणका लागि शान्तिपूर्ण आन्दोलन अघि बढाउने जनाएको छ ।

एकीकृत दल सामूहिक नेतृत्व प्रणाली र जनवादी केन्द्रीयताको सिद्धान्तमा सञ्चालन हुनेछन् । वैचारिक तथा राजनीतिक मतभिन्नताबारे निरन्तर छलफल गर्दै अन्ततः राष्ट्रिय महाधिवेशनबाट निष्कर्ष निकालिने पनि सहमति गरिएको छ ।

सहमति पत्रमा दाहाल र नेपालसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टीका अध्यक्ष सुभाषराज काफ्ले, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढा, नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनका हस्ताक्षर रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्