पहुँचका आधारमा भर्ना भएका करार कर्मचारी तत्काल हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)मा पहुँच र सिफारिसका आधारमा भर्ना गरिएका करार कर्मचारीहरूलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहनुभएकी प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा निगमका सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो।

उहाँले विगतमा बनेका निगम सुधारका प्रतिवेदन र सुझावहरूलाई कार्यान्वयनका लागि ठोस योजना बनाई अघि बढ्न निर्देशन दिनुभयो। “निगम सुधारका लागि अब ढिलाइ गर्न पाइँदैन,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।

कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगम अहिले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित घाटामा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री कार्कीले निगममा हुने अनियमितता र आर्थिक अपचलनमाथि कडा असन्तुष्टि जनाउँदै अनुचित दबाब र गैरकानूनी आदेश नमान्न निर्देशन दिनुभयो। उहाँले आफ्नै जहाजको इन्जिन मर्मतका लागि पठाएर नल्याउने र भाडाको इन्जिन प्रयोग गरेर ठूलो खर्च देखाउने प्रवृत्तिमाथि पनि प्रश्न उठाउनुभयो।

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्रीको निर्देशनसँगै लामो समयदेखि विवाद र घाटामा रहेको नेपाल वायु सेवा निगममा सुधारका प्रयास तीव्र हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्