काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो ।
टस जितेर बलिङ रोजेको अमेरिकाविरुद्ध नेपालले सुरुवात राम्रो गर्न सकेन । ओपनर आसिफ शेख २ रनमा आउट भएपछि कुशल भुर्तेल (४७) र भीम सार्की (४३) ले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । आरिफ शेख २ रनमा आउट भए भने कप्तान रोहित पौडेल (३५) र दीपेन्द्रसिंह ऐरी (७५) ले पाँचौं विकेटका लागि ८९ रन जोडे ।
तल्लोक्रममा करण केसीले ३१ बलमा ४९ रनको आक्रामक खेल खेले । नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो । अमेरिकाका हर्मित सिंहले ३ विकेट लिए ।
जवाफमा २७२ रनको लक्ष्य अमेरिकाले एक ओभर बाँकी रहँदै ६ विकेटको क्षतिमा पूरा गर्यो । साइतेजा मुक्कामाला (७५) र मिलिन्द कुमार (७०) ले चौथो विकेटका लागि १२३ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । सन्दीप लामिछानेले ३ विकेट लिए ।
यस जितसँगै अमेरिका लिग–२ को अंकतालिकामा २३ खेलमा ३४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल १९ खेलमा १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका सोमबार यूएईसँग र नेपाल बुधबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।






