काठमाडौँ — गएको भदौ २३ र २४ गतेका ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ वटा अध्ययन टोली परिचालन भएका छन्।
राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार अबको एक हप्ता देखि १० दिनभित्र सबै क्षतिको विवरण संकलन गरिसक्ने गरी टोलीहरू खटाइएको हो। तथ्याङ्क संकलनमा एकरूपता र सहजता ल्याउन आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ सञ्चालनमा ल्याएको छ।
सो पोर्टलमार्फत सम्बन्धित पालिका, प्रदेश र संघका कार्यालयहरूले अनलाइनमार्फत क्षतिको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि क्षति पुगेका ४४ जिल्लाका पालिका, प्रदेश र संघीय सरकारका विषयगत मन्त्रालय तथा केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ प्रदान गरिएको सहायक प्रवक्ता लुइँटेलले जानकारी दिनुभयो।
उहाँका अनुसार पर्सि आइतबारसम्म सबै टोलीहरू कार्यस्थलमा पुगिसक्नेछन् र एक हप्ताभित्र तथ्याङ्क संकलन कार्य सम्पन्न गर्ने योजना रहेको छ।






