काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन गर्ने–नगर्ने विषयमा मतभेद चर्किँदै गएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आगामी निर्वाचनका कारण तत्काल महाधिवेशन सम्भव नभएको तर्क गर्दै चुनावपछि मात्र गर्ने तयारी गरेको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।
सभापति देउवा पक्षका नेताहरूले निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने भन्दै महाधिवेशन स्थगन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बरालका अनुसार नेताहरूले मंसिरबाट चुनावी कार्यतालिका सुरु गरेर चुनावपछि महाधिवेशन गर्नुपर्ने राय दिएका छन्।
तर, दुई महामन्त्रीले भने पार्टीको विधानअनुसार नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै शनिबार ‘खबरदारी भेला’ आयोजना गर्ने तयारी गरेका छन्। विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन्।
महामन्त्री थापा र शर्माले मंसिरभित्रै १५औं महाधिवेशन गर्न सकिने दुईवटा विकल्पसहित प्रस्ताव तयार पारेका छन्। तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त कार्यतालिका पेश नगर्न आग्रह गरेपछि केन्द्रीय समितिमा छलफल अघि बढ्न सकेको छैन।
अर्कोतर्फ, नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनका नाममा पार्टी विभाजनको खतरा बढेको चेतावनी दिएका छन्। निधिले विशेष महाधिवेशनका लागि भएको हस्ताक्षरलाई “जबर्जस्ती” भन्दै त्यसबाट पार्टी फुटको जोखिम बढ्ने बताएका छन्।
सभापति देउवाको कार्यकाल यही मंसिरमा सकिँदैछ। संस्थापन पक्षले वर्तमान केन्द्रीय समितिको कार्यकाल थपेर चुनावी तयारीमा लाग्ने तयारी गरेको छ भने महामन्त्री पक्षले त्यसलाई “बलमिच्याँई” भन्दै चेतावनी दिएको छ।
महामन्त्री गगन थापाले भनेका छन्, “विशेष महाधिवेशन हुन सक्दैन भन्ने अधिकार कसैलाई छैन। महाधिवेशन प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गरेर माग गरेका हुन्।”
पार्टीभित्र मतभेद समाधानका प्रयास जारी रहँदा कांग्रेसको आगामी राजनीतिक दिशा महाधिवेशनको निर्णयमा निर्भर रहने देखिन्छ।






