हिमपातका कारण उच्च हिमाली क्षेत्रका यात्रा नगर्न टानको सुझाव

 

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले हाल उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ।

टानका अध्यक्ष सागर पाण्डे का अनुसार हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जसका कारण हिमाली क्षेत्रका पदयात्रा मार्ग जोखिमपूर्ण बनेका छन्।

मौसम पूर्वानुमान अनुसार डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथा लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरूमा वर्षासँगै हिमपात सुरु भइसकेको र यसले पदयात्रा तथा आरोहणजस्ता पर्यटन गतिविधिमा असर पारेको टानले जनाएको छ।

अध्यक्ष पाण्डेले कतिपय जिल्लामा स्थानीय प्रशासनले समेत पदयात्रा रोक लगाएको जानकारी दिँदै, मौसममा सुधार नआएसम्म उच्च हिमाली क्षेत्र र पास हुँदै जाने सम्पूर्ण पदमार्गहरूमा यात्रा नगर्न वा नगराउन अनुरोध गरेका छन्।

टानले पदयात्री, आरोहण दलका सदस्य र सहयोगी टोलीलाई पनि आवश्यक सतर्कता अपनाउन, सुरक्षित स्थानमै बस्न र मौसम सामान्य भएपछि मात्र यात्रा पुनः सुरु गर्न सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्