काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर वरपरको क्षेत्रमा हिमपात भएपछि दर्शनका लागि गएका तीर्थयात्री र पदयात्रीहरू प्रभावित भएका छन्। हिजो साँझसम्म मौसम सामान्य रहे पनि आज बिहानदेखि निरन्तर हिउँ परेपछि स्थानीय जीवनयापन र आवागमनमा कठिनाइ भएको छ।
मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमका अनुसार बिहान ५ बजेतिर उठ्दा वरिपरि बाक्लो हिउँ परेको थियो। उनले भने, “हामी मन्दिरभन्दा तलको होटलमा छौं, यहाँ करिब तीन–चार इञ्च हिउँ जमेको छ। बाटोमा हिउँ जमेकाले हिँडडुल गर्न गाह्रो भएको छ र गाडीहरू रोकिएका छन्।” होटल तथा पसल सञ्चालकहरूले आफ्नो क्षेत्रको हिउँ बेल्चाको सहायताले पन्छाए पनि सडकमा जमेको बाक्लो हिउँ हटाउन स्काभेटर प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए।
हिमपातका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै यात्रु र पदयात्रीहरूलाई अहिलेका लागि यात्रा नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उच्च हिमाली क्षेत्रहरू—जस्तै याकखर्क (५८०० मि), थोरङ्ला पास (५४०० मि), सरिबुङ पास (६००० मि) लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपातको पूर्वानुमान भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो।
त्यस्तै, जल तथा मौसम विज्ञान विभागले पनि मुस्ताङ–डोल्पा, मुस्ताङ–मनाङ र मुस्ताङ–म्याग्दी सीमाका विभिन्न हिमाली क्षेत्रहरूमा आगामी केही दिनसम्म हिमपात र वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसम प्रतिकूल हुने भएकाले तीर्थयात्री र पर्यटकहरूलाई यात्रा अघि मौसमसम्बन्धी जानकारी लिएर मात्र निस्किन सुझाव दिइएको छ।
तिहार र छठ पर्वको बिदामा मुस्ताङसहितका हिमाली क्षेत्रहरूमा पदयात्रीहरूको चाप बढेको भए पनि आगामी केही दिनमा कार्यालयहरू खुल्न थालेसँगै संख्यामा कमी आउने अनुमान गरिएको छ।
गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने पूर्वानुमानसहित मौसम पूर्वानुमान महाशाखाले पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले भनेको छ, “हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सचेत रहनु आवश्यक छ।”







