दार्चुला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेकम गाउँपालिकाको सभापतिमा महेश नाथ सर्वसम्मत रूपमा चयन भएका छन्। पार्टीको पहिलो पालिका अधिवेशनले नाथको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै संगठन सुदृढीकरण र गाउँपालिकाको भावी राजनीतिक दिशा तय गर्ने निर्णय गरेको हो।
पालिका अधिवेशन कार्तिक १ गते श्री लटिनाथ नमूना माध्यमिक विद्यालय, चन्दनपुर चौपातामा सम्पन्न भएको थियो। अधिवेशनमा गाउँपालिकाका विभिन्न वडाहरूबाट निर्वाचित प्रतिनिधि, स्थानीय कार्यकर्ता दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभापतिमा चयन भएपछि नाथले सहभागी सबैप्रति आभार व्यक्त गर्दै नयाँ सोच, पारदर्शी सुशासन, नागरिकमुखी सेवा र जिम्मेवार नेतृत्वमार्फत लेकमको समृद्ध भविष्य निर्माण गर्ने संकल्प व्यक्त गरे।
“तपाईंहरूको सहभागिता नै परिवर्तनको शक्ति हो,” उनले भने, “नयाँ सोच, नयाँ नेतृत्व र नयाँ यात्रासँगै लेकमको उज्ज्वल भविष्य हामी सबैको साझा अभियान हो।”
यसअघि सम्पन्न वडा अधिवेशनमार्फत वडा नम्बर १ मा सुरेश सिंह विष्ट, वडा नम्बर २ मा नारद प्रसाद जोशी, वडा नम्बर ३ मा मनोज कुमार पन्त, वडा नम्बर ४ मा पशुपति गिरी, वडा नम्बर ५ मा उमेश विष्ट र वडा नम्बर ६ मा धिरेन्द्र सिंह धामी सभापतिमा चयन भएका थिए। प्रत्येक वडामा ११ सदस्यीय वडा समिति गठन गरिएको छ।
सभापति नाथले वडा अधिवेशनबाट चयन भएका सबै पदाधिकारीहरूको सक्रियता र प्रतिबद्धतामार्फत “जय घन्टी, जय लेकम” अभियानलाई नयाँ ऊर्जाका साथ अघि बढाउने विश्वास व्यक्त गरे।






