काठमाडौं। सूर्य आराधनाको महान् पर्व छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू अहिले पनि विभिन्न छठघाटहरूमा पूजाआराधनामा तल्लीन छन्।
व्रतालुहरूले आज साँझ पोखरी तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा पूजा आराधना गरी रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुनेछ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वको पहिलो दिन स्नान गरी एक छाक खाइने, दोस्रो दिन षष्ठी मातालाई चढाइएको खीर खाई फलाहार बस्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा रहेको छ।
छठको व्रत विधिपूर्वक सम्पादन गर्नाले परिवारको सुख, समृद्धि र कल्याण हुने विश्वास रहिआएको छ। पूजामा बाँसका सामग्री, उखु, केरा, स्याउ, सुन्तला, नरिवल, गगर र माटाका मानपात्रहरू विशेष रूपमा प्रयोग गरिन्छ।
छठ पर्वका अवसरमा तराई–मधेशदेखि काठमाडौं उपत्यकासम्मका नदी, तलाउ र जलाशयहरू झकिझकाउ भएका छन्। पहिले तराई क्षेत्रमा मात्र सीमित यो पर्व पछिल्ला वर्षमा काठमाडौंसहित पहाडी क्षेत्रहरूमा पनि समान श्रद्धा र भव्यताका साथ मनाइने गरिएको छ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल आज काठमाडौंको गुह्येश्वरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ। उहाँले बागमती नदी किनार गौरीघाटस्थित पूजास्थलमा पुगेर सूर्य र छठी मातालाई अर्घ्य दिनुभयो।
राष्ट्रपतिले हरेक वर्ष गुह्येश्वरी र कमलपोखरीमा पूजा आराधना गर्ने परम्परा रहे पनि यस वर्ष भने उहाँ केवल गुह्येश्वरीमा मात्र जानुभएको हो।
त्यस्तै, प्रधानमन्त्री सुशीला कार्की आज कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।






