परिवर्तन पक्षधर शक्तिबीच सहकार्य र सद्भाव आवश्यक छ: प्रचण्ड

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने बताएका छन्।

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको यो महान् पर्वले सबैमा आपसी एकता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने कामना गरेका छन्।

प्रचण्डले भनेका छन्, “परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं भन्ने विश्वास व्यक्त गर्दछु।”

उनका अनुसार आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ। “छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस्,” उनले शुभकामना सन्देशमा भनेका छन्।

मधेश–तराईको मुख्य चाडका रूपमा मनाइने छठ पर्व हाम्रो संस्कृति, परम्परा, श्रम–सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको उल्लेख गर्दै उनले यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्