काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत चलिरहेको त्रिदेशीय सिरिजमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९ ओभर २ बलमै सबै विकेट गुमाउँदै १ सय ५६ रनमा समेटियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने ओपनर आसिफ शेखले ३७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अमेरिकाका हर्मीत सिंहले घातक बलिङ गर्दै १० ओभरमा ६ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार पारेको थियो । अमेरिकाका स्मित पटेलले ७५ रन र मिलिन्द कुमारले नटआउट ७० रन बनाए ।
नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान १/१ विकेट हात पारे ।
यूएईको दुबईमा आजदेखि सुरू भएको त्रिदेशीय सिरिजमा घरेलु टोली यूएई, नेपाल र अमेरिका सहभागी छन् । प्रतियोगिता कात्तिक १९ गते (आउँदो बुधवार)सम्म चल्नेछ । सिरिजअन्तर्गत प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछ ।
लिग–२ को अंकतालिकामा अमेरिका २१ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा पुगेको छ भने नेपाल १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ । यूएई १६ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।






