सिफारिस भए पनि मन्त्री बन्न पाएनन् खगेन्द्र सुनार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले बनाएको नयाँ मन्त्रिपरिषद्मा अन्तिम क्षणमा नाटकीय मोड आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरिएका खगेन्द्र सुनारको शपथ आज नहुने भएको छ ।

सुनारविरुद्ध फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको शपथ रोकिन पुगेको हो । प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारको नाम मन्त्रीको रूपमा समावेश गरिएको थियो । तर दिउँसो प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ स्वयं राष्ट्रपति कार्यालय पुगेर सुनारको शपथ नगराउने जानकारी गराएका छन् ।

राष्ट्रपति कार्यालयका एक उच्च स्रोतका अनुसार, “बिहान प्रधानमन्त्री कार्यालयबाट आएको नामावलीमा सुनारको नाम थियो, तर पछि प्रधानमन्त्रीका स्वकीय सचिव आएर शपथ रोकिएको जानकारी गराउनुभयो,” भन्ने जानकारी प्राप्त भएको छ ।

यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्री सूचीमा समावेश नै नभएको दाबी गरेका छन् । तर उनीहरूको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।

सुनार दैलेखको नारायण नगरपालिका–२ भैसेखोरका बासिन्दा हुन् । उनीविरुद्ध २०७८ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको खुलेको छ । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उनलाई समेत प्रतिवादी बनाइएको थियो ।

अदालतले सो मुद्दामा ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ नपरेमा ३५ दिने पुर्जी तामेल गर्न पत्राचार गरिएको पनि भेटिएको छ । पछि, २०७८ मंसिर २१ गते अदालतले पुनः पत्राचार गर्दै उनलाई पक्राउ गरेर उपस्थित गराउन निर्देशन दिएको थियो ।

उनीविरुद्ध मेहेलकुना अस्पताल, गुर्भाकोट नगरपालिका–८, सुर्खेतका प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएका थिए ।

यस घटनासँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तारमा विवाद थपिएको छ भने, सरकारले मन्त्रिपरिषद् चयनमा पर्याप्त अध्ययन नगरेको आरोप पनि उठ्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्