काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान सवा ११ बजे सुरु हुने खेलमा नेपाल उच्च आत्मविश्वासका साथ मैदान उत्रिँदैछ।
टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेर उत्कृष्ट लयमा रहेको नेपाली टोली ओमानबाटै युएई पुगेको हो। यस सिरिजमा नेपालले अमेरिका र युएई दुवैसँग दुई–दुई खेल खेल्नेछ।
नेपालले आगामी ३० अक्टोबरमा युएईसँग, १ नोभेम्बरमा अमेरिकासँग र ५ नोभेम्बरमा पुनः युएईसँग खेल्ने तालिका छ। त्यसपछि टोली स्वदेश फर्कनेछ।
लिग–२ को हालसम्मको अंकतालिकाअनुसार नेपालले १६ खेलबाट १२ अंक जोडेको छ। आठ टोली सहभागी प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंकका साथ शीर्ष स्थानमा छ।
अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स समान अंकसहित तेस्रो स्थानमा रहेको छ।
ओमान २० खेलबाट २४ अंक, क्यानडा २४ खेलबाट २१ अंक, नामिबिया २४ खेलबाट १९ अंक, नेपाल १२ अंक र युएई ६ अंकसहित क्रमशः पछिल्ला स्थानमा छन्।
नेपालका लागि यो सिरिजमा बाँकी खेल जित्नु अनिवार्य जस्तै भएको छ, जसका कारण टोलीमा उच्च दबाब छ।
एकदिवसीय टोली:
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।
यस पटक भीम सार्की, अनिल कुमार साह र साहब आलम टोलीमा परेका छन् भने टी–२० टोलीका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ खेलाडी दुवै प्रारूपमा रहेका छन्।






