काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। तथापि, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले दिएको विवरण अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतः सफा रहनेछ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा छिटपुट वर्षा र हल्का हिमपात हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहने सम्भावना छ।
महाशाखाले हाल देशभर स्थायी वा सक्रिय मौसमी प्रणाली नदेखिएकाले समग्र रूपमा मौसम स्थिर र सामान्य रहने जनाएको छ।






