हायात होटलको सेवा बन्दप्रति प्रधानमन्त्री कार्कीको चासो

काठमाडौँ – काठमाडौँको चुच्चेपाटीस्थित हायात होटलले सेवा बन्द गरी कर्मचारीलाई काममा नआउन सूचित गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले यसबारे चासो व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीको चासोलगत्तै अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापन पक्षसँग टेलिफोन संवाद गर्नुभएको हो। अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा पुनः सञ्चालन गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

हायात होटलले हिजो जारी गरेको विज्ञप्तिमा भदौ २४ गते भएको ‘जेनजी प्रदर्शन’का क्रममा तोडफोड भएकाले तत्कालका लागि सेवा बन्द गर्नुपरेको उल्लेख गरिएको थियो। त्यसपछि प्रधानमन्त्री कार्कीले घटना र त्यसको प्रभावबारे गम्भीर चासो व्यक्त गर्नुभएको उहाँकी प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार र होटल व्यवस्थापनबीच यस विषयमा आइतवार थप छलफल हुने भएको छ। होटलको मानव संसाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले जारी गरेको विज्ञप्तिमा होटलमा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण तत्काल सञ्चालन गर्न नसकिने र अर्को सूचना नआएसम्म कर्मचारीलाई काममा नआउन भनिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्