काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
मन्त्री घिसिङले हाल सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा आफू “उज्यालो नेपाल” नामक नयाँ पार्टीमा आबद्ध हुँदैछु र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने समाचारहरू प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सूचना र समाचारमा उल्लेख गरिएझैं उक्त पार्टीमा मेरो आबद्धताबारे कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएझैं जूम बैठकमा मेरो सहभागिता समेत नरहेको स्पष्ट पार्छु।”
मन्त्री घिसिङले आफूलाई कुनै छलफल वा सल्लाह बिना नै दूषित मनसायका साथ असत्य र तथ्यहीन सामग्री प्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन्।
“मसँग कुनै पनि प्रकारको सल्लाह वा सहमति बिना गरिएको यस्तो प्रचारप्रसार भ्रामक र गलत हो,” उनले भने, “सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।”






