तिहारको मुख्य दिन आज भाइटीका, ११ बजेर ३९ मिनेटमा उत्तम साईत

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका देशभर हर्षोल्लासका साथ मनाइँदैछ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने परम्परा रहिआएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालका अनुसार साइत शुभ भए पनि आज दिनभर टीका लगाउन कुनै बाधा छैन । तर राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस वर्ष तिथि वृद्धि भई भाइटीका तिहारको छैटौं दिनमा परेको हो ।

समितिका अनुसार भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । टीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने शास्त्रीय मान्यता छ । यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने र शुभ फल प्राप्त हुने विश्वास रहिआएको छ ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिन्छन् र मखमली, सयपत्री वा गोदावरीका फुलमाला पहिराइदिएर आशीर्वाद दिन्छन् । त्यसपछि ओखर, कटुस, मसला र सेलरोटीजस्ता परिकार समर्पण गर्ने चलन छ । दाजुभाइले पनि गच्छेअनुसार दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्छन् ।

शास्त्रविद्हरूका अनुसार तिहारमा लगाइने टीका पञ्चरंगी हुनुपर्छ । धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र निलो गरी पाँच रंगको प्रयोग गर्नु धार्मिक रूपमा उचित मानिन्छ ।

यसरी भाइटीका दिदीबहिनी र दाजुभाइबीचको माया, स्नेह र आत्मीयताको प्रतीकका रूपमा मनाइन्छ, जसले परिवार र समाजमा एकताको सन्देश फैलाउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्