राष्ट्र ठुलो सङ्कटमा छ, सहमतिको आवश्यकता चाहिन्छ: प्रचण्ड

महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश हाल गम्भीर सङ्कट र विध्वंसको अवस्थामा पुगेको बताउँदै सबै राजनीतिक शक्ति, वामपन्थी र कम्युनिस्टबीच सहमति र एकताको आवश्यकता औंल्याएका छन्।

बुधबार महोत्तरीमा आयोजित कार्यक्रममा प्रचण्डले बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सहमति अपरिहार्य रहेको उल्लेख गर्दै भने, “देशभित्रका सबै वामपन्थी र कम्युनिस्ट, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारका पक्षमा उभिएका सबै शक्ति, नागरिक समाज र जनता एक हुनुको विकल्प छैन।”

उनले वर्तमान अन्तरिम सरकार जटिल परिस्थितिमा बनेको बताउँदै छ महिनापछि निर्वाचन गराउने निर्णयमा माओवादी केन्द्र स्पष्ट रहेको जानकारी दिए। प्रचण्डका अनुसार, “हामीले कुनै हिचकिचाहट नराखी घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्छ र संविधान संशोधनमार्फत युवाहरूका माग तथा जनताको असन्तुष्टि सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।”

प्रचण्डले हालै प्रधानमन्त्री सुशील कार्कीले बोलाएको सर्वदलीय बैठकमा अधिकांश दलहरूले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको जानकारी दिँदै, माओवादी केन्द्रले यस प्रक्रियाको नेतृत्व गरिरहेको दाबी गरे। उनले देश सहज निकासको बाटोतिर अघि बढ्न माओवादी केन्द्रको भूमिकालाई जनताले टोल–टोलमा पु¥याउन आग्रह गरे।

गत असोज २३ गते ‘जेनजी’ युवाहरूले गरेका आन्दोलन र त्यसलाई तत्कालीन सरकारले गरेको दमन नेपालको इतिहासमा कहिल्यै नबिर्सिने घटना भएको प्रचण्डले स्मरण गरे। उनले भने, “हामीले आन्दोलन अघि नै युवाहरूका माग जायज छन् भनेका थियौं। सरकारको दमनपछि रातारात काठमाडौं आएर आकस्मिक बैठक बोलायौं र दमनको विरोध गर्दै मृतकहरूलाई शहीद घोषणा गर्न माग गर्यौं।”

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरिएको तर उनले नदिँदा २४ गते देशमा भयानक विध्वंस मच्चिएको बताए। सो घटनापछि देश ‘राज्यविहीनता’ तिर जान लागेको अवस्थामा आफूले सबै राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर संवाद गरी सहजीकरणको भूमिका खेलेको दाबी पनि गरे।

प्रचण्डका अनुसार, २६ गते राति राष्ट्रपति भवनमा राति ९ बजेदेखि साढे ३ बजेसम्म देशको राजनीतिक निकास, संविधान र समावेशी अधिकारको रक्षा विषयमा छलफल भएको थियो। उनले भने, “संविधानमा टेकेर युवाहरूका भावनालाई कदर गर्दै अन्तरिम सरकार गठन गर्ने र त्यसलाई वैधानिकता दिने काममा माओवादी केन्द्रको भूमिका निर्णायक रह्यो।”

अन्त्यमा प्रचण्डले भने, “केपी ओलीले अहंकार देखाए पनि उनको सिफारिसमै सुशील कार्कीको सरकार बनेको हो। यो सरकार वैधानिक छ र यसले देशलाई निकास दिन सक्छ भन्ने सन्देश जनतामाझ पु¥याउन जरुरी छ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्