पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं । विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमति प्रदान गरेको छ। ती आयोजनाको कुल क्षमता २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म कुल २६६ जलविद्युत् आयोजनाले निर्माण अनुमति प्राप्त गरिसकेका छन्, जसको संयुक्त उत्पादन क्षमता १० हजार ८२५ मेगावाट बराबर रहेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्म विभागले लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१.३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट) लाई निर्माण अनुमति प्रदान गरेको हो।

विभागका अनुसार हाल ५९ वटा आयोजनाले निर्माण अनुमति प्राप्त गर्न आवेदन दिएका छन्, जसको कुल क्षमता १० हजार ५३२ मेगावाट बराबर छ।

यस्तै, सौर्य ऊर्जातर्फ हालसम्म १२ आयोजनाले निर्माण अनुमति पाएका छन्, ती परियोजनाको संयुक्त क्षमता ८४ मेगावाट रहेको छ। थप ३ वटा सौर्य आयोजनाले १५ मेगावाट क्षमतासहित अनुमति प्राप्तिका लागि आवेदन दिएका छन्।

विभागले निर्माण अनुमति लिएर पनि काम अगाडि नबढाएका १५ जलविद्युत् आयोजनाको अनुमति खारेज गरेको छ। त्यस्तै, आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको आवेदन पनि रद्द गरिएको विभागले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्