काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते निर्धारित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।
नेपाल संवत् अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार चुनावको वातावरण बनाउन दत्तचित्त भएर लागेको स्पष्ट पारिन् ।
उनका अनुसार राजनीतिक दल र जेनजी समुदायसँग दैनिक रूपमा विभिन्न माध्यमबाट संवाद भइरहेका छन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ । परिवर्तनका बाहक जेनजी समुदायसँग पनि निरन्तर सम्पर्कमा छौं।”
उनले निर्वाचनलाई प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सरकार मौन रहेको होइन भन्ने स्पष्टिकरण पनि दिइन् । “निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन,” उनले भनिन्, “संविधानको अधीनमा रही जेनजी आन्दोलनले उठाएको सुशासनको आवाज सम्बोधन गर्नु हाम्रो दायित्व हो, र यसमा पनि परिणाममुखी रूपमा राज्य संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।” प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभार पूरा गर्न सबै सरोकारवालासँग सहयोगको अपिलसमेत गरिन् ।






