काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने र सबै दललाई तयारीमा जुट्न आग्रह गरे । पुनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र चुनावको पक्षमा रहेको स्पष्ट पारेको बताए । उनले भने, “हामी चुनावी वातावरण बनाउँछौं, अरू दलले पनि योगदान दिनुपर्छ।”
उनले भदौ २३ को ‘जेनजी आन्दोलन’लाई जनआवाजको सही अभिव्यक्ति बताए पनि २४ गतेको तोडफोड बाह्य घुसपैठीयाले गराएको दाबी गरे ।
पूर्वअर्थमन्त्री पुनले ओली नेतृत्वको दुई तिहाइ सरकारलाई “भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित” भन्दै आलोचना गरे र जनताको असन्तुष्टि नै नयाँ पुस्ताको ‘जेनजी आन्दोलन’का रूपमा विस्फोट भएको बताए ।
उनका अनुसार, माओवादी सुशासन र पारदर्शितामा अन्य दलभन्दा फरक छ र अघिल्लो १८ महिनामा प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा ठोस कदम उठाएको प्रमाणित भइसकेको छ ।







