काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई “विभीषण” भनेर गरिएको कटाक्षको प्रतिवाद गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई विभीषण भन्नेहरू नै “रावण पक्षधर” भएको टिप्पणी गर्दै यस्तो टिप्पणी गर्नेहरूको सोचप्रति प्रहार गरेका छन् ।
कार्कीले लेखेका छन्, “रामायणमा एक पात्र छन्—विभीषण। एउटै नाम गाली र सम्मान दुवैका लागि प्रयोग हुनसक्ने पात्र हो। रावण पक्षका लागि विभीषण गाली दिनका लागि प्रयोग हुने नाम हो, तर राम पक्षका लागि त्यही विभीषण सम्मानित नाम हो।”
उनले थप लेखेका छन्, “त्यसैले बुझ्नुहोस्—यदि तपाईंले कसैलाई विभीषण भनेर गाली गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नै स्वामीलाई रावण भन्दै हुनुहुन्छ।” कार्कीले निकटस्थहरूसँग भनेका छन् कि रास्वपाका सभापति रवि लामिछाने निकट नेताहरूले आफूलाई विभीषण भनेर टिप्पणी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। पछिल्लो समय रास्वपाभित्र असन्तुष्टिको स्वर क्रमशः बढ्दै गएको छ। यसअघि डा. तोसिमा कार्कीले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक गरेकी थिइन्। पार्टीभित्रका केही नेताहरू, जसमा गणेश कार्की पनि परेका छन्, वैकल्पिक र नयाँ शक्ति निर्माणका लागि अनौपचारिक तथा औपचारिक छलफलमा सक्रिय रहेको स्रोत बताउँछ। पार्टीभित्र संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको दूरी बढ्दै गएको बेला कार्कीको यो अभिव्यक्तिलाई रास्वपाको वर्तमान अवस्थाप्रति गरिएको तीक्ष्ण कटाक्षको रूपमा हेरिएको छ।






