धनगढी – इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
जोशीको शव यात्रा बिहान ८ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निवासबाट महाकाली नदी किनारको भुजेला घाटतर्फ सुरु हुनेछ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले विपिन जोशीको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ धार्मिक परम्पराअनुसार गरिने जानकारी दिए।
उनका अनुसार विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ। इजरायलमा अध्ययनका लागि पुगेका जोशीलाई गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए। जोशीको शव सोमबार मात्र इजरायलबाट नेपाल ल्याइएको हो। काठमाडौंबाट नेपाली सेनाको स्काई ट्रकमार्फत शवलाई धनगढी विमानस्थलमा ल्याई सलामी अर्पण गरी परिवारलाई बुझाइएको थियो। जोशीको अन्तिम संस्कारमा सहभागी हुन नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहित तीन जना इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेको छ।
राजदूतसहितको टोलीले विपिनको घरमै पुगेर परिवारसँग भेट गरी समवेदना व्यक्त गरेको छ। विपिन जोशीको निधनले कञ्चनपुरमा शोकको छायाँ छाएको छ भने स्थानीयवासीहरूले उनलाई साहसी, मिहिनेती र सौम्य स्वभावका युवकका रूपमा सम्झिरहेका छन्।






