इजरायल–हमास युद्धमा मारिएका नेपाली विद्यार्थी विपीन जोशीको शव आज स्वदेश ल्याइँदै

Photo: Social Media

काठमाडौं, कात्तिक २९ – इजरायल–हमास युद्धकाक्रममा ज्यान गुमाएका नेपाली विद्यार्थी विपीन जोशीको शव आज स्वदेश ल्याइँदैछ। कञ्चनपुर निवासी जोशीको शव फ्लाई दुबईको विमानमार्फत् दिउँसो काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनेछन्। शव काठमाडौं आइपुगेपछि नेपाली सेनाको समन्वयमा उहाँको पार्थिव शरीर गृहजिल्ला कञ्चनपुरसम्म पु-याइनेछ।

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकु समूहले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा विपीन जोशी बन्धकमा परेका थिए। त्यसयता उहाँको अवस्था अज्ञात रहँदै आएको थियो। लामो समयसम्मको अनिश्चितता पछि गएको असोज २७ मा इजरायली अधिकारीहरूले उहाँको मृत्यु पुष्टि गरेका थिए।

युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपीनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। त्यसपछि इजरायलको राजधानी तेल अवीवमा आयोजित कार्यक्रममा उहाँप्रति औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कृषि अध्ययनका लागि इजरायल गएका विपीन जोशीसँगै अन्य केही नेपाली युवा पनि उक्त आक्रमणमा मारिएका थिए। विपीनको दुःखद निधनप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्