काठमाडौं– लक्ष्मी पूजाको दिन आज देशका धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र एक/दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तिहारको बाँकी दिनहरुमा पनि ठूलो पानी पर्ने सम्भावना छैन। भोलि मंगलबार देशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ।
बुधबारको दिन पनि पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भाइटीका पर्ने बिहीवार पनि देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। तर, कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भेगमा फाटफुट वर्षा वा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
महाशाखाले तिहारको अवसरमा यात्रा, पर्व र अन्य गतिविधिका लागि मौसम अनुकूल रहने भएकाले सजगताका साथ चाडपर्व मनाउन आग्रह गरेको छ।






