काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत परेको छ । समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार कात्तिक ६ गते धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको संयोग भएकाले यो समय भाइटीकाको लागि उत्तम मानिएको हो । उनले भने, “राज्य सञ्चालकहरूले साइतमै टीका लगाउनुपर्छ, सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन ।”
यस वर्ष यमपञ्चक अर्थात् तिहार पर्व कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ । सोही दिनदेखि यमदीप दान तथा धन त्रयोदशी (धनतेरस) पर्व पनि मनाइनेछ । कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा तथा दीपमालिका पर्व पर्ने समितिले जनाएको छ । कात्तिक ४ गते मंगलबार बिहान औँसी तिथिमा स्नान–दान गर्ने र गाई, गोरु तथा आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्ने शास्त्रीय वचन रहेको समितिले जनाएको छ । आत्म (म्ह) पूजा नेवार समुदायमा विशेष रूपमा मनाइने परम्परा हो ।
यसै दिन अर्थात् कात्तिक ५ गते नै नेपाल संवत् नयाँ वर्ष ११४६ सुरु हुनेछ । समितिका अध्यक्ष ढकालका अनुसार प्रतिपदाका दिन सूर्योदयसँगै नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय आधारमा यो मिति तोकिएको हो । शास्त्रीय विधिअनुसार भाइपूजा अर्थात् नेवारी भाषामा ‘किजा पूजा’ पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहने भएकाले यस अवधिभित्र भाइटीका सम्पन्न गर्न सकिने समितिले जनाएको छ ।
शास्त्रीय ग्रन्थहरूका अनुसार भ्रातृपूजा भन्ने शब्दले दाजुभाइ दुवैलाई जनाउँछ । त्यसैले भाइटीका भनिए पनि ज्येष्ठको क्रमअनुसार दाजुभाइलाई टीका–टाला गर्नु शास्त्रसम्मत हुने समितिको भनाइ छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । यस अवधिमा यमदीपदान परिवारका सदस्यहरूको नाम उच्चारण गरी गरिन्छ । शास्त्रीय विश्वास अनुसार यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइन्छ ।
काग र कुकुरलाई यमदूतका रूपमा सम्मान गर्दै मीठा परिकार अर्पण गर्ने परम्परा पनि तिहारकै प्रमुख विशेषता हो, जसले यमलोकमा सहयोग र सुरक्षाको प्रतीक मानिन्छ ।






