कैलाली – कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति गोदावरी नगरपालिका–४ मा रहेको शुभम् होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार ऐर होटलमा खाना खाइरहेका समयमा ४–५ जनाको समूहमा आएका व्यक्तिहरूले उनलाई लक्षित गर्दै चक्कु प्रहार गरेका थिए। घाइते ऐरलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भारत पठाइएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी जारी रहेको छ।






