काठमाडौँ – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले इजरायल–हमास युद्धको दुई वर्ष पूरा भएको अवसरमा ती दिनहरूलाई स्मरण गर्दै भावनात्मक सन्देश सार्वजनिक गरेका छन्।
सन् २०२३ को यही अक्टोबर १२ (२०७९ असोज २६) मा परराष्ट्रमन्त्रीको हैसियतमा साउद इजरायलको राजधानी तेल अविभ पुगेका थिए। इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत नेपाली विद्यार्थीहरू मध्ये हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो। ती विद्यार्थीहरूको शव संकलन, घाइतेहरूको उपचार, र स्वदेश फर्कन चाहने नेपालीहरूको उद्धारका लागि साउद तत्काल इजरायल पुगेका थिए। “त्यसै क्रममा, विपिन जोशी हमासद्वारा अपहरण भई गाजामा बन्धक बनाइएको खबरले मलाई खल्लो, उदास, चिन्तित र पीडित बनाएको थियो,” साउदले सामाजिक सञ्जालमार्फत लेखेका छन्। “आजसम्म पनि विपिनको सकुशल उद्धारको आशा जीवितै छ,” उनले थपेका छन्।
साउदका अनुसार, आफ्नो कार्यकालमा इजरायल सरकार, सहजकर्ताका रूपमा रहेका कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राज्य अमेरिका लगायतका सरोकारवालासँग उनले उच्च कूटनीतिक तहमा निरन्तर सम्पर्क, संवाद र प्रयास गरेका थिए। “घाइते र अन्य नेपाली नागरिकहरूको उद्धार गरी फर्किने क्रममा विपिनलाई साथमा लिएर फर्किन नपाउँदा मन अमिलो र असहज महसुस भएको थियो,” उनले स्मरण गरे।
सन्देशको अन्त्यमा उनले लेखेका छन्, “म आफ्नो र समस्त नेपालीहरूको तर्फबाट विपिन जोशीको सकुशल रिहाइ तथा सुरक्षित उद्धारको कामना गर्दछु। जय नेपाल!”






