काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले बढ्दै २ लाख ३८ हजार रुपैयाँ पुगेको छ। शुक्रबारसम्म सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
शुक्रबार चाँदी प्रतितोला ३ हजार ८० रुपैयाँमा कारोबार भएको थियो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको र अमेरिकी डलर कमजोर बनेको प्रभाव नेपालमा पनि परेको हो। निकट भविष्यमा सुनको मूल्य अझै उतार–चढाव रहने अनुमान गरिएको छ।






