हमासको कब्जाबाट विपिन जोशी चाँडै रिहा हुनेमा परराष्ट्र मन्त्रालय आशावादी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी चाँडै रिहा हुनेमा आशावादी रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, हालसम्म प्राप्त सूचनाले विपिन जोशी सकुशल रहेको संकेत गरेको छ।
“ढिलै भए पनि जोशी कब्जामा परेपछि सुरुको भिडियो सार्वजनिक भएको छ, मृत्युको सूचीमा उनको नाम छैन, र इजरायलले पनि उनी जीवित रहेको बताएका छन्,” क्षेत्रीले भने, “त्यसैले हामी उनी चाँडै रिहा हुनेमा आशावादी छौँ।”

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग नियमित सम्पर्क राख्दै आएको छ र जोशीको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको छ। त्यस्तै, क्षेत्रीले इजरायल र हमासबीच भएको शान्ति सम्झौतामा नेपालले स्वागत गरेको जानकारी दिए।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालले यो बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीप्रति प्रशंसा प्रकट गर्दछ।”

मन्त्रालयले सो सम्झौता कार्यान्वयनका क्रममा गाजाका जनतालाई मानवीय सहायता सहज बनाउन र दिगो शान्तिको मार्ग प्रशस्त गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ। साथै, विज्ञप्तिमा विपिन जोशीलगायत सबै बन्धकहरूको तत्काल रिहाइको आह्वान समेत गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्