कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको विभत्स तरिकाले घाँटी रेटेर हत्या गरिएको छ। २८ वर्षीय स्थानीय केशरबहादुर बुढाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या आरोपमा १९ वर्षीय बलबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। दुबै जना घटनापछि मृतकको टाउको बोकेर प्रहरी कार्यालयतर्फ जाँदै गर्दा पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार प्रहरी टोली गस्तीमा रहेको बेला दुबै युवक आफैंले हत्या गरेको भनेर टाउको देखाएका थिए। प्रहरीले घटनास्थलमा पुगेपछि शरीर फेला परेको र प्रारम्भिक अनुसन्धानमा मदिरा सेवनपछि विवाद हुँदा हत्या भएको देखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







