काठमाडौं — ललितपुरको नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ। १३ असोजमा भएको घटनामा मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई खुकुरी प्रहार गरी हत्या गरिएको हो।
तामाङ मनमैजुमा बस्दै आएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले पूरानो रिसईबीका कारण हत्या भएको आशंका गरेको छ। मगर २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागार तोडफोडपछि भागेका थिए। उनी लुटपाट र डकैती अभियोगमा जेल चलान भएका थिए। हत्यापछि अझै फरार रहेका मगरको संलग्नता सीसीटीभी फुटेज र प्राविधिक प्रमाणबाट पुष्टि भएको प्रहरीले जनाएको छ।
यसअघि नख्खुबाटै फरार सन्तबहादुर तामाङले पनि आफ्नी श्रीमतीको हत्या गरेका थिए। कारागार तोडफोडपछि देशभर करिब १५ हजार कैदीबन्दी फरार भएका मध्ये झन्डै साढे पाँच हजार अझै फरार रहेका छन्। कार्की आयोगले हालै कारागार विभागसँग फरार कैदीहरूको विवरण माग गरेको छ।






